चुनाव हुन्छ, हुन्छ, हुन्छ
खगेन्द्र संग्राैला
लाग्छ, नाकै अगाडिको यो खतराबारे शासनको आसनमा बसेका तीन ठूला दलका माउहरूलाई उत्रो फिक्री छैन । यो वा त्यो निहुँ थापेर ती सजिलै भन्छन्— संविधानसभा हुँदैन । संविधानसभा हुने गराउन ती अर्थपूर्ण यत्न र अभ्यास केही गर्दैनन् । त्यो नहुँदाको अपजस अर्काका थाप्लामा थुपार्न निधार मुजा पार्दै काइते कसरतमात्र गर्छन् । वाइसीएलले गर्दा संविधानसभा हुँदैन । एमाले र काङ्ग्रेसको साझा रट यस्तो छ । मधेसको उपद्रोले गर्दा संविधानसभा हुँदैन । एमाले र माओवादीको साझा रट यस्तो छ । सत्ताभित्र र बाहिरका प्रतिगामी मलाई घेरेर, चेप्ट्याएर थानकोट कटाउन ज्यान छाडेर लागेका छन् । त्यसैले संविधानसभा हुँदैन । माओवादीको एकल रट यस्तो छ । काङ्ग्रेस र माओवादीले मजस्तो सुयोग्यलाई हेपे । त्यसकारण संविधानसभा हुँदैन । एमालेको एकल गनगन यस्तो छ । तर चुनाव नहुँदा आइलाग्न
सक्ने भयावह परिणतिको कल्पना गरेर चुनाव गराउन राजनीतिक र प्राविधिक चाँजोपाँजो मिलाउन यी तीन खेलाडी दूरदर्शी, उदार र
सहनशील दिलले वरको सिन्को पर सार्ने लेठोसम्म पनि गरिरहेका छैनन् ।
हुँदैनको यो कर्कश रटनाले हाम्रा मानसमा एउटा लम्पट दृश्यको रचना गर्छ । बडे दलका नेता निम्छरो पहाडको फेदीमा उभिएका छन् । मुसलधारे पानी अविराम परिरहेको छ । सिङ्गो पहाड गिलिँदो र गल्दो छ । विकराल पैरो जाने खतरा पलपल नजिक आइरहेछ । तर बडे दलका तीन नेता फेदीमा तीनतिर फर्केर एकअर्कालाई फत्तुर लगाउँछन्— हेर्, तैँले गर्दा पैरो जाने भो । मैले होइन, तैँले । न न न, तैँले, तैँले र तैँलेमात्र । पैरो छल्नलाई सुरक्षित थलोतिर लम्किन तीनैथरीलाई चासो छैन । न हतार छ । न जाँगर छ । नत छ पैरोपछि हुने आफ्नो दुःखद नियतिप्रति पिरलो नै । पैरोले पुरिएर परमधाम भएपछि अपजसको प्याकेज डिल गर्न दैहिक अस्तित्व नै रहँदैन भन्ने कटु यथार्थ हाम्रा ठूलेहरूलाई थाहा छैन ।
राजनीतिमा अर्काको दुर्बलतामा आफ्नो सबलता देख्नु मूर्खमति हो । मूर्खमतिको डुङ्गा चढेर संविधानसभाको किनारमा कदापि पुगिँदैन ।
बडा दलका बडेका छेवैमा राजावादीहरू फुस्रा ओँठ चाट्दै उभिएका छन् । यी शाही प्युसा संविधानसभा नहोस् भनेर कल, बल र छलजस्ता कुटिल उपाय प्रयोग गर्दै छद्मभेषमा परिस्थिति बिथोल्न लागिपरेका छन् । राजा आऊ, हामीलाई फेरि सत्ताको तर चखाऊ— यिनको मौन मन्त्र यस्तो छ । तर यी खानका काललाई संविधानसभा नहुँदा चैनले सास फेरेर उभिन पाइने माटो नै नरहने कुराको एकरत्ति चिन्ता छैन ।
अर्कालाई हिलो छ्यापेर आफू कञ्चन देखिन यत्न गर्ने कुनै पनि ठूलेका मुखारविन्दबाट म यो-यो सपार्दैछु, म संविधानसभाको चुनाव गराएरै छाड्छु भन्ने अमृत वचन सुन्न पाइँदैन । लाग्छ, चुनाव नगराउन र नेपाललाई अफ्गानिस्तान वा रुवान्डातिर डोर्याउन ठूलेहरू जान-अन्जान कटिबद्ध छन् । पछिल्ला डरलाग्दा घटना यसै भन्छन् । काङ्ग्रेसी शान्तिमन्त्री रामचन्द्र पौडेल लुसुक्क मधेस झरे र तिनले को-कोसँग खुसुक्क बात मारे । सके मधेसका केही नायक वा खलनायकलाई यसो लालीपप चटाएर मधेसी समस्याको क्षणभङ्गुर समाधान खोज्ने तिनको दाउ होला । यो समस्या सुल्झाउने होइन, झनै उल्झाउने चाल हो । सरकारमा आठ दलको गठबन्धन छ । तर काङ्ग्रेस कसैलाई नसोधी गोप्य दुलामा असन्तुष्ट पक्षहरूसित वार्ताको नाटक गर्छ । यो गठबन्धनका बन्धुहरूमाझ विश्वासको सट्टा अविश्वास, निकटताको सट्टा दूरी, ऐक्यको सट्टा फाटोको सुतीखेती गर्ने खेलो हो । यो संविधानसभा हुँदैनको हुङ्कार हो ।
उता माओवादी कणहरूले झनै भयावह अनिष्टलाई निम्त्याउन खोजेझैं लाग्छ । यत्रतत्र टिपिएका, क्रान्तिको दर्शन र संस्कृतिले दीक्षित नगरिएका वाइसीएलका काँचा जनका कच्चा कामहरू उग्रताको पल्लो फालमा पुगिसके । चरिकोटमा तिनले सीडीओको हुर्मत लिए । आफू सरकारमा हुनु अनि आफ्ना केटा कुदाएर आफूमुनिका अधिकारीलाई कुट्नु र तिनको अस्मितामाथि धावा बोल्नु अमर्यादाको पराकाष्ठा हो । यो अमर्यादाले भन्छ, मलाई संविधानसभाको चुनावै चाहिँदैन । माओवादीको 'हुँदैन' अब 'चाहिँदैन'को गर्जनमा फेरिन लाग्यो । लफङ्गोपना प्रदर्शन गर्दा मधेसमा माओवादी उभिने धरती चिरा परेको थियो, अब पहाडी भेगमा पनि त्यही कथा दोहोरिने छाँट छ । कण ! के हो यो हजुरको वाइसीएल ? यसको मथिङ्गलको साँचो कणहरूका खल्तीमा छ कि अन्त कतै छ ? कण ! घुसपैठ, अन्तरध्वंस र आत्मविनाशबारे प्रचण्डपथ के भन्छ ?
साझा सत्तामा हिजोसम्म गिरिजाप्रसाद कोइरालाको एकल बर्चस्व थियो । अब चौतर्फी द्वन्द्व, असुरक्षा, अन्योल र भयको बीचमा सत्ताको साँचो बिस्तारै सेनातिर सरिरहेको आभास हुन्छ । जब जनशक्तिप्रति शासकको विश्वास टुट्दै जान्छ, उसको आस गएर बन्दुकमा टाँसिन्छ । नपत्याए गिरिजाबाबुलाई हेरे हुन्छ । हाम्रा बाबुजी पत्तै नपाइकन प्रधानसेनापतिका अरौटेमा फेरिँदैछन् । गिरिजाबाबुको बुइँ चढेर धमिलो पानीमा माछा मार्न शाही दानापानी खाएका जर्साहेपहरू मानौँ फुर्तीसाथ खुट्टा उचाल्ने धुनमा छन् ।
अनि माओवादी कणहरू ? दिग्भ्रमको कारण ती सेनालाई उक्साहटकारी ऊर्जा, उत्साह र उत्तेजना प्रदान गरिरहेका छन् । माउ माओवादीहरू लहरै उभिएर स्वरमाथि स्वर खाप्दै भन्छन्— गम्भीर षडयन्त्र हुँदैछ, सेनाले कू गर्न सक्छ । यो भनाइभित्र माओवादीको विम्ब अशक्त, निरीह र निरुपाय मुसाको जस्तो देखिन्छ । जागेका नेपाली नागरिक माओवादी माउहरूलाई सोध्छन्— कण ! ज्यानले कुन सेनाले कू गर्छ भन्या हो ? हिजो माओवादी छापामारले तिरिखिरी खेलाएको सेनाले ? हिजो राजा ज्ञानेन्द्रको तानाशाहीलाई शिरमा बोकेर कुच्चिएको अनुहार डेन्टिङ-पेन्टिङ गरिनसकिएको सेनाले ? आन्दोलनको अदम्य आँधीबेहरीमाझ वैशाखमास होसहवास उडेको सेनाले ? सक्दैन र गर्दैन भनेर नागरिकको शिर उठाउनु र सैनिक जर्नेलहरूलाई साइजमा राख्नु त कता हो कता माओवादी कणहरू कू गर्न तिनलाई आमन्त्रण गरिरहेका छन् । ती हात थाप्दै पुकारा गरिरहेका छन्— हामी कुल्चिइनमात्र लायक छौँ, तिमी हाम्रा शिरमाथि कू गर ! धत् !
सडक र पेटी, सार्वजनिक वाहन र डबली, पत्रिका र चियापसल, तरकारी बजार र मदिरालय जताततै एउटै आवाज सुनिन थालको छ— संविधानसभाको चुनाव हुँदैन । यो आम सुगा रटाइमा म माउ दलका लाठेका नकारात्मक कथनको प्रतिध्वनि सुन्छु । नेतृत्वप्रति आम मानिसको आस्था मासिँदै जाँदा के हुन्छ ? त्यो रिक्ततामा हिजोको तानाशाह पुनः ताण्डवनृत्य गर्न तम्सिन्छ । नारायणहिटी दरबारको बढ्दो चुरिफुरीका प्रेरक नेतात्रय गिरिजाबाबु, प्रचण्डकण र माधवजी नै हुन् ।
संविधानसभा हुन्छ । को भन्छ, हुँदैन ? पक्का हुन्छ । नेपाललाई अफ्गानिस्तान र रुवान्डा हुन नदिन संविधानसभा हुन्छ, हुन्छ । तर भगवानका कृपाले आफैं होइन, गराउन खोजेरमात्र हुन्छ । यसका लागि पहिलो सर्त वाम-वाम गाली विराम, वाम-काङ गाली विराम हो । दोस्रो सर्त हो, सिंहदरबार ग्यालरी बैठकको संसद नाउँको कुम्भमेलालाई तत्काल विसर्जन गर्नु । मुद्रा, चरित्र र शैलीका दृष्टिले यो कुम्भमेला राष्ट्रिय पञ्चायतको काटीकुटी निरन्तरता हो । र यसका नायक हुन्, महापञ्च सूर्यबहादुर थापा । जब थापा बोल्छन्, आकाश थर्किन्छ । जब ती गर्जिन्छन्, तिनको छायाछविले सञ्चार ढाकिन्छ । लागू नगरिने कथित ऐतिहासिक घोषणा गरेर यो संसदले इतिहासको बाटो छेकेको धेरै भयो । लाग्छ, जनताका आँखामा छारो हाल्न घरिघरि के-के भन्दै संसद नामक यो जम्बोरी आफ्नो आयु लम्याउने काममात्र गरिरहेको छ । संसदमा अर्थपूर्ण काम केही भएको छ भने त्यो हो- समय बियाँल्नु र अर्थको थैलो थाप्नु । यो र त्यो विधेयक पास गर्ने काम यो तदर्थ संसदको होइन । चुनावलाई चाहिने नियम र कानुनको तर्जुमा गर्नुबाहेक यसलाई अरू कुनै हक छैन । सकल भूपू खातेपितेसहितको यो भीडले लोकका चित्तमा वितृष्णा पैदा गर्नुसिवाय के गरेको छ ? तसर्थ यो भीड निस्केर थानकोट बाहिरका गाउँ-देहातमा चुनावी अभियानमा गइहालोस् । बस्, चुनाव हुन्छ । जो हुँदैन भन्छ, त्यो राजावादी हो । त्यो नेपाल अफ्गानिस्तान वा रुवान्डामा पतीत भएको देख्न रहर गर्ने नेपालद्रोही हो !
No comments:
Post a Comment