राष्ट्रगान चुनियो रे, सुन्न चाहिँ पाइएन
बुधबार बिहानै बसेको मन्त्रिपरिषद्को बैठकले अन्ततः राष्ट्रगान छानेको खबर सुन्दा खुसी भएँ। यत्रो समयसम्म देशलाई राष्ट्रगानविहीन बनाएर राख्नु ठीक थिएन। आठ महिनाअघि कार्यदलले राष्ट्रगानको सिफारिश गरेको भए पनि विवादका कारण सरकारले राष्ट्रगान घोषणा गर्न सकेन। फलस्वरुप अन्तरिम संविधानमा समेत राष्ट्रगानको ठाउँ खाली नै रह्यो। आ-आफ्नै स्वार्थका कारण मच्चिएको राष्ट्रगान सम्बन्धी विवाद अहिले सेलाएपछि खुसुक्क उही सिफारिश गरिएकै व्याकुल माइलाको कविता राष्ट्रगानको रुपमा स्वीकृत गरियो। राष्ट्रगानको शब्द त पहिले नै धेरै प्रचार भइसकेको हो, तर राष्ट्रगानको लागि छानिएको भनिएको अम्बर गुरुङको १ मिनेट ३० सेकेण्डको त्यो धून चाहिँ कस्तो रहेछ भन्ने उत्सुकता धेरैलाई जाग्यो।तर अहँ, खबर मात्रै सार्वजनिक गरियो, धून गरिएन। कुनै पनि सञ्चारमाध्यमहरुमा सुन्न पाइएन आफ्नै देशको राष्ट्रिय गानको धून। मन्त्रीहरु बसेर प्रस्तावित ६ वटा धूनहरु सुनेछन् र एउटालाई पास गरेछन्। तर हामीले भने न पास भएको धून सुन्न पायौँ, न फेल भएको नै।
मन्त्रिपरिषदले निर्णय गर्ने बित्तिकै सार्वजनिक गरिदिए त भइहाल्यो नि, केको कुराइरहनु परेको बेकारमा, हैन त ? हुनत २४ घण्टापछि सार्वजनिक गर्ने रे भन्ने सुनिएको छ। तर यो २४ घण्टा कुराउनुको कुनै अौचित्य देखिनँ मैले। न यो कुनै गोप्य राख्नुपर्ने विषय हो, न संवेदनशील नै। यो त जतिसक्दो छिटो प्रचार गरी जनमानसमा भिजाउनु पर्ने चिज पो हो त। तर नेपालको चलन अचम्म कै छ।
लौ अब केही घण्टा बाँकी छ क्यारे २४ घण्टा हुन। त्यतिञ्जेल चाहिँ राष्ट्रगानका रुपमा स्वीकृत भएको यो गीत पढ्दै धूनको कल्पना गर्दै बसौँ-
सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भइ फैलिएका, मेची-महाकाली ।
प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल
वीरहरुका रगतले, स्वतन्त्र र अटल
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल
No comments:
Post a Comment